कांग्रेस नेताको टिप्पणी : चिनियाँ कम्युनिष्ट पार्टीको कार्यालयमा केपी ओलीकोे प्रवेश अशोभनीय - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

22 June 2018

कांग्रेस नेताको टिप्पणी : चिनियाँ कम्युनिष्ट पार्टीको कार्यालयमा केपी ओलीकोे प्रवेश अशोभनीय

'सी जिनपिङ विचारधारा'माथि नेपाल सरकारको समर्थन


८ असार, काठमाडौं । नेपाल र चीनका प्रधानमन्त्रीस्तरीय वार्तापछि जारी भएको १४ बुँदे वक्तव्यमा सी जिनपिङ विचाराधाराको चर्चा गरिएको छ ।

तर, गैरकम्युनिस्टहरुले नेपाल सरकारकै तहबाट सी जिनपिङ विचाराधाराप्रति समर्थन जनाउनु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
यसका साथै प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको कार्यालय निरीक्षण गर्नु र त्यहाँ प्रवचन दिनु उपयुक्त नभएको भन्दै कांग्रेस र राप्रपाका नेताहरुले गुनासो गरेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चीनले लिँदै आएको राजनीतिक विचाराधाराप्रति नेपालको विमति नरहेको बताए । तर, नेपालको प्रधानमन्त्री संविधानको विचारधारा अनुसार चल्नुपर्ने भन्दै उनले अमूक पार्टीको विचाराधारा नेपाल राज्यको विचारधारा हुन नसक्ने प्रतिक्रिया दिए ।संयुक्त वक्तव्यमा सी जिनपिङ विचारधारा अन्तर्गत चिनियाँ विशेषतासहितको समाजवाद निर्माणप्रति नेपालको समर्थन रहने कुरा समेत थपिएपछि यसबारे बहस सुरु भएको हो ।


महतले भने ‘प्रधानमन्त्रीको हैसियतमा औपचारिक भ्रमणमा गएपछि पार्टीका कार्यक्रममा सहभागी हुनु शोभनीय होइन । उहाँले कम्युनिस्ट पार्टीको प्रवचन नै दिनुभएको कुरा पनि आयो, सी जिनपिङ विचाराधाराप्रति नेपालको कुनै विमति हुने कुरा छैन । तर, त्यो विचारधारा हाम्रो प्रधानमन्त्रीको वा देशको हुन सक्छ कि सक्दैन ? यो प्रश्न महत्वपूर्ण हो ।
पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको हैसियतमा कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा जाने र प्रचवन दिने कुरा उपयुक्त नभएको प्रतिक्रिया दिए ।
थापाले सी जिनपिङ विचारधाराप्रति नेपालको समर्थनको कुरा वक्तव्यमा आउनुचाहिँ राजनीतिक र कुटनीतिक सन्दर्भ भएको बताए ।
तर, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भने सी जिनपिङ विचारधाराबाट चीनले प्रगति गर्ने कुराको नेपालले समर्थन गर्नु र प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको स्कूलमा प्रवचन दिनु स्वाभाविकै भएको बताए ।

श्रेष्ठले भने ‘यसमा लुकाउने कुरा छैन, हाम्रा प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष पनि भएकाले एउटा कम्युनिस्ट पार्टीको अध्यक्षले अर्को कम्युनिस्ट पार्टीको कार्यालय भ्रमण गर्नु, कम्युनिस्ट आन्दोलनबारे हाम्रो पार्टीको दृष्टिकोण राख्नु सामान्य कुरा हो । प्रतिक्रिया दिने मित्रहरुले नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ भन्ने त बुझ्नुपर्‍यो नि ।’
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य पछिल्लो संयुक्त वक्तव्य र प्रधानमन्त्रीको कम्युनिस्ट प्रवचनबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
आचार्यले भन्छन्- विगतमा पनि कम्युनिस्ट हेडक्वार्टरमा गएर त्यहाँका नेतालाई भेट्ने प्रचलन थियो । आखिर चीनमा सबै संयन्त्र कम्युनिस्ट पार्टीको नियन्त्रणमा छन् । पार्टी पार्टीलाई नजोडेको भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिन सकिन्छ । तर, नेपाल र चीन दुवैतिर कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गरेको यथार्थ हो । त्यसको प्रतिबिम्ब त झल्किहाल्छ ।
केपी ओलीका दुई प्रयोग
हुन त नेपाल कम्युनिस्ट पार्टीको एकीकरणसँगै माओवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाइनु र चीनमा माओ र देङ विचाराधाराको कडीका रुपमा सी जिनपिङ विचाराधारा प्रतिवादन हुनु संयोगमात्र होला । तर, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यस पटक दुईवटा नयाँ प्रयोग भएका छन् ।
यसअघि कम्युनिस्ट वा गैरकम्युनिस्ट कुनै पनि प्रधानमन्त्रीले चीनको औपचारिक भ्रमणमा जाँदा त्यहाँको कम्युनिस्ट पार्टीका कार्यालय भ्रमण गर्ने प्रचलन थिएन । यसपटक ओलीले चिनियाँ कम्युनिस्ट नेताहरुसँग पार्टी तहमा सम्बन्ध विकासको चर्चामात्र गरेनन्, पार्टी स्कूलमा गएर कम्युनिस्ट नेताका रुपमा प्रवचनसमेत दिए ।
यसपटकको चीन भ्रमणका क्रममा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग र पार्टी स्कूलको प्रवचनमा पनि नेपालमा बलियो कम्युनिस्ट पार्टी निर्माण भएको भन्दै एमाले-माओवादी एकीकरणको सिलसिला जोडे ।
राष्ट्रिय समाचार समितिले ओलीलाई उधृत गर्दै बेइजिङ डेटलाइनबाट प्रवाह गरेको समाचारमा नेकपाले ७ मध्ये ६ प्रदेश र संघीय सरकारमा दुई तिहाईको सरकार बनाएको र शक्तिशाली कम्युनिस्ट केन्द्र बनेको उल्लेख छ ।
यो भ्रमणका क्रममा दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई अझ ब्यापक बनाउने र सहकार्य तथा द्वीपक्षीय भ्रमणहरु आदान-प्रदान गर्ने विषयमा सघन छलफल भएको भ्रमण दलका सहभागी नेताहरुले बताइसकेका छन् ।
चीनले नेपालको र नेपालले चीनको राजनीतिक प्रणालीबारे कहिल्यै टिप्पणी गरेका छैनन् । पञ्चायतकाल होस् वा राजाको सक्रिय शासनमा पनि चीनले नेपालको राजनीतिक समस्यालाई आन्तरिक मामिला भन्ने गरेको छ ।
संयुक्त वक्तव्यको रजानीतिक प्रसंग
नेपाल र चीनका प्रधानमन्त्रीस्तरीय वार्तापछि जारी गरिएको १४ बुँदे वक्तव्यको तेस्रो बुँदामा चिनिया कम्युनिस्ट पार्टीको पछिल्लो सम्मेलन, त्यसबाट प्रतिपादन गरिएको सी जिनपिङ विचारधाराप्रति नेपालको समर्थन र नेपालका प्रधानमन्त्री ओलीको सम्बृद्ध नेपाल र सुखी नेपाली विकासको मोडलप्रति एक अर्काले समर्थन जनाएका छन् ।
संयुक्त वक्तव्यमा यस्तो भनिएको छ-
‘सन् २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय सम्मेलन तथा सन् २०१८ मा चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलन सफलतापूर्वक सम्पन्न भएकामा नेपाली पक्षले चीनलाई बधाई ज्ञापन गर्‍यो ।
नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधाराको निर्देशनमा चिनियाँ जनताले यस शताब्दीका लागि तय गरेका दुई लक्ष्य पूरा गर्दै चीनलाई समृद्ध, शक्तिशाली, लोकतान्त्रिक, सांस्कृतिक अग्रगमनयुक्त, सद्भावपूर्ण तथा समृद्ध एक महान् आधुनिक समाजवादी देश बनाउने कुरामा नेपाली पक्षले आफ्नो विश्वास व्यक्त गर्‍यो ।’
चिनियाँ पक्षले नेपाल तथा नेपाली जनतालाई ऐतिहासिक तथा युगान्तकारी राजनीतिक रूपान्तरणसँगै राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सहितको नयाँ युगको सुरुवातका लागि बधाई ज्ञापन गर्‍यो । नेपालमा सङ्घीय संरचनामा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भई तिनै तहमा नयाँ सकार गठन भएकामा चीनले खुसी व्यक्त गर्‍यो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गरी नेपाली जनताका लागि राजनीतिक स्थायीत्व, सामाजिक सद्भाव तथा आर्थिक समृद्धि दिने कुरामा चीनले विश्वास व्यक्त गर्‍यो । नेपालका विकास लक्ष्यको प्राप्तिका लागि आफ्नो क्षमता अनुसार सहयोग गर्ने कुरामा चीनले पूर्ण प्रतिवद्धता जनायो  (अनलाइनखबर)।

No comments:

Post a Comment

post to add